Wednesday, September 7, 2011

आत्मावतार

-स्व. प्रा. डा. सूर्यमणि अधिकारी-
शनिबारको दिन थियो। रमेशले अपराह्न तीन बजेतिर लगभग यस्तै अठार वर्षकी हिस्सी परेकी गोरी केटी लिएर आयो। त्यस दिन मैले रमेशकी केटी साथीसँग धेरै कुरा सोधखोज गरें। केटी फरासिली रहिछे, मेरा हर प्रश्नको खुलस्त जवाफ दिई।
मैले सोधें – “तिम्रो नाम के हो नानी।”
उसले भनी – “जुली”
“ए…………। मेरो नाम जुनेलीको पहिलो र अन्तिम अक्षरले तिम्रो नाम बनेछ।”
“आम्मै। हो त नि ” (ऊ खित्का छोडेर हांसी)।
“तिम्रो बा के गर्नु हुन्छ
“उपसचिव होइसिन्छ, ममी पनि बैंकमा नोकरी गरिसिन्छ।”
“बसोबास कहाँ छ नि ?”
“बानेश्वरमा हाम्रो घर छ।”
“तिम्रो बाको नाम के हो ?”
“रामप्रसाद शर्मा”
“थर के हो नि ?”
“घिमिरे भन्छन्”
म अलि झस्किएँ। हाम्रो पनि थर घिमिरे हो र मेरो लोग्ने भनाउँदाको नाम पनि रामप्रसाद थियो। मैले आफूलाई सम्हाल्दै बढी जानकारी लिने कोशिस गरें।
“तिम्रो घरमा को-को छौ ?”
“बस, बाबा , ममी, म अनि एउटा नोकर”
“दाजुभाइ, दिदी बहिनी ?”
“कोही छैनन्, मलाई ममीको अप्रेशन गरी निकालेको रहेछ, त्यसपछि बच्चा भएनछ।”
“तिम्रो पहिलाको घर कहाँ रहेछ, त्यतातिर अझै कोही छन् कि ?”
“धारापानी भन्ने गाउँ हो रे, त्यहाँ हजुरबुवा र काका होइसिन्छ, उहाँहरु कहिलेकाहीँ आइसिन्छ, हजुरबुवा संस्कृत पढेको पण्डित, मलाई असाध्ये माया गरिसिन्छ।”
अब त मलाई निश्चित भयो – जुलीको बाबु रामप्रसाद मेरो लोग्ने रहेछ र जुली मेरी सौताकी छोरी रहिछे। त्यसपछि म प्राय: चुप रहेँ। ऊ बोलिरही। कहिले रमेशको कुरा गर्थी, कहिले कलेजका आफ्ना साथी संगिनीहरुको, आफ्ना बाबु आमाको आदि विषयमा उसले कुरा गरी। उसले जाने विचारले घडी हेर्न थालेपछी रमेशले मलाई भान्साकोठामा बोलाएर सोध्यो, “कस्ती लागि त आमा, मेरी केटी साथी ?”
“केटी त बेसै हो तर”
“के तर ?”
“तैँले उसलाई मन पराएको होस् ?”
“उसले नै मलाई मन पराएकी हो।”
मेरो निधारमा चिटचिट पसिना आउन थाले। मेरो अनुहार तिलमिलाएको देखेर रमेश पनि किंचित झस्कियो। मैले डराई डराई उसँग सोधें – “तिमीहरुको लसपस त भएको छैन ?”
“किन ?”
“भयङ्कर अपराध भयो कि भनेर”
“कस्तो अपराध भन्नुहुन्छ, के कुरा गर्दै हुनुहुन्छ ?”
“जुली तेरी बहिनी रहिछे।” मैले उसलाई सबै कुरा बताइदिएँ। रमेशले कसम खाएर जुलीसँग कुनै त्यस्तो लसपस नभएको विश्वास दिलायो। अनर्थबाट जोगाएकोमा मैले परमेश्वरलाई धन्यवाद दिएँ मनमनै। त्यसपछि हामी बाहिरी कोठामा निस्कियौ। रमेश चुप थियो। ऊ कुराको थालनी गर्न नसकेर रन्थनिँदै थियो। मैले वातावरणलाई सहज बनाउने प्रयास गर्दै कुराकानी सुरु गरें। कुराको अस्पष्टताले जुलीको मुहार बदली लागे जस्तो अँध्यारो देखियो। तथापि स्पष्टसँग मैले एक वाक्यमा सुनाइदिएँ – “रमेश र जुली, तिमीहरु दाजु बहिनी रहेछौ, बाबु एउटै, आमा अलग -अलग।”
जुली जिद्दीवाल रहिछे। मेरो भनाइपछि उसले सबै कुरा खुलस्त नगरी धर दिइन। मैले आफ्नो वेदनाको बयान सुरु गरें -
“गाउँको बिद्यालयमा पढ्दै गर्दा मेरो विवाह रामप्रसाद शर्मा अर्थात् तिम्रा बासँग भयो। उनी त्यस बखत शहरमा पढ्दै थिए। कहिलेकाहीँ गाउँमा आउने गर्थे। हाम्रो सम्बन्ध लज्जा र संकोचले भरिएको थियो। तथापि विवाहको केही वर्षपश्चात् मैले तिम्रो बाबाट गर्भधारण गरेछु। गाउँले जीवन, घरको बुहार्तन र सासुको कहर आदि अनेक कष्ट झेलेर म आफ्नो पतिको प्रगतिको कामना हृदयभरि बोकेर बिताउँदै थिएँ। पछि थाहा भयो – उनको शहरमा तिम्री आमासँग प्रेम विवाह भएको रहेछ।”
म भन्दै गएँ – “त्यसपछि त घरमा झन् टिक्नै नसक्ने स्थिति पैदा भयो। म माइतमा बस्न विवश भएँ। माइतमा नै रमेश जन्म्यो। उस्को न्वारन गर्नसम्म घरबाट कोही आउन मानेनन्। तिम्रो बाको रवाफले गर्दा सबै डराए। तिम्रो बाले गाउँको अंश बिक्री गरी शहरमा तिम्री आमाको नाममा घडेरी किनी घर बनाएका छन् भन्ने सुनियो। आफ्ना बा-आमा बित्नु भएपछि मेरा लागि बोलिदिने कोही भएन। जे भएको पेवा – पातबाट रमेशलाई म्याट्रिकसम्म पढाउन सकेँ। चिन्ता र बेदनाले म रोगी भएँ। असमयमै बुढी देखिएँ। रमेशले शहरमा सानो जागिर पाएपछी एउटा राहतसम्म मिल्न गएको छ। अर्काको घरमा डेरा गरेर भए पनि प्राण धान्नेसम्म गुजारा चलेको छ, यस्तै छ बा। खै कसलाई दोष दिनु, आफ्नै कर्म उस्तै भएपछि।” अनि मनबाट भक्कानो छुटेर आयो। म केही बोल्न सकिनँ।
मेरो वृतान्त सुनेपछि जुलीको अनुहार रातो न पिरो देखियो। मेरो अनुमान विपरीत ऊ मलाई आ….मा….. भन्दै अङ्कमाल गरेर रुन थाली, मलाई पनि रुवाई। रमेश अक्क न
बक्क परिरह्यो।
पुगिसरी आउने बाबु – आमाकी एक्ली छोरी भएर होला, जुली जिद्दीवाल बनेकी। उसले रमेशतिर फर्केर आदेशको स्वरमा भनि – ” दाइ। म अब आमालाई छोडेर जाँदै जान्न। घरमा कहींबाट फोन गरेर जुली मेरो डेरामा छ भनिदिनुस्।” ऊ फेरि मलाई सुमसुम्याउन थाली। पाँच वर्षे बालिका जस्तै भएर म्वाईं खाने र अङ्कमाल गर्ने गरिरही। हर्षले विभोर भएर आमामाथि आमा रटीरही। आमा भेट्टाएँ भन्दै कहिले हाँस्ने, कहिले रुने गरी। यसरी हाम्रो डेरामा एकजना थपिने भई रमेशकी पत्नी होइन, बहिनी भएर।
फोन गर्न गएको रमेश साँझपख जुलीका आमा-बुवा समेत लिएर आयो। उसले सबै कुरा खोलेको रहेनछ। जुली पोइल आएको सम्झेर होला, उसका आमा बुबा देख्नासाथ रुन थाले।
तर जुली क्रोधित मुद्रा बनाउंदै गर्जन थाली ” जबसम्म तिमी दुईजनाले आमासँग माफी मागेर आमा र दाइलाई घर लैजादैनौं, अनि अर्को कुरा, आमा र दाइ नजाने हो भने पनि यो कोठाबाट जुली होइन, उस्को लाश निस्कने छ।”
उनीहरुले मध्यरातसम्म जुलीलाई सम्झाउने अनेक यत्न गरे तर ऊ झन् कठोर हुँदै गई। चिच्याउन, कुर्कुच्चा बजार्न र थुक्न थाली। रमेश र मैले पनि सम्झाइ बुझाइ गर्ने प्रयत्न गर्‍यौँ तर सब बेकार। मध्यराततिर रमेशले चियासहित केही खानेकुरा लिएर आयो। रमेशको आग्रहमा जुलीले खानेकुरा पाँच भाग लगाई तर उसका बाबु आमाले खान अस्वीकार गरे। जुली रिसाएर सबै खानेकुरा उनीहरुतिरै फालिदीई। त्यस रात कसैले खाएनन्, कोही निदाएनन् पनि।
बिहानीपख जुलीका आमा बुवाले आत्मसमर्पण गरे। रमेश र मलाई पनि जुलीको आग्रह टार्न संभव भएन। बिहानको झुल्के घामसँगै हामी उसको घर भित्रियौँ।
जुली हर्षतिरेक देखिन्थी। उसले दिनभर सासै नफेरी घरको व्यवस्था मिलाई। मलाई उसले आफ्नो कोठामा राख्ने भई। रमेश दाइको कोठा भनेर अलग कोठा किटान गरी। उनका आमा बाबु त्यो दिन काममा गएनन्, रमेश पनि गएन। आमा बाबु अझै पनि काला नीला देखिन्थे। रमेश अचम्म मानिरहेको थियो। बेलुका सबैलाई जम्मा गरी जुलीले अब आइन्दा यो घर यसरी चल्ने छ भनेर फर्मान जारी गरी – “दाजु र बहिनी अर्थात् रमेश र जुली कलेज जाने, रमेशले जागिर छाड्नु पर्ने, उसका आमा बुबा अर्थात् रजनी र रामप्रसाद नोकरीमा यथावत् धाउनु पर्ने र घर चलाउने सम्पूर्ण जिम्मा आमाको हुने, यसको पालना नगरिएमा जुलीले आमरण अनशन गर्ने।
जिद्दीवाल जुलीको आदेशलाई अवज्ञा गर्ने हिम्मत कसैले गरेनन्। त्यो घरमा सबै कुरा उसको इच्छानुसार चल्न थाल्यो। मलाई त उसले पुरै पराजित गरी। खाना उसैसँग खानु पर्ने, रातमा उसैलाई काखमा लिएर सुत्नु पर्ने, उसले खानुस् भनेको कुरा खाइदिनु पर्ने, लगाउनु भनेको कुरा लाइदिनु पर्ने आदि यावत् कुरा यन्त्रवत् उसैको खटनपटनमा चल्नु पर्ने भयो मैले।
बिहान कलेज जाने बेलामा आमा। गएँ भनेर जाने गर्थी। अपरान्ह, आमा। भन्दै आइ पुग्थी। उसका अगाडी मैले मलीन अनुहार लगाउन हुन्थेन। उसका आमा-बाबुले मेरो वा रमेशको बारेमा खासखुस गरे हपार्न पुगीहाल्थी। उनीहरु यो बुढीले जुलीलाई मोहनी लगाई भन्ने सोच्दा हुन्। तर उसले मलाईनै मोहनिपाशले फुत्कने नसक्ने बनाई। पतिले परित्याग गरेकी मलाई र बाबुले न्वारननै गर्न नदिएको रमेशलाई जुलीले पति र पितासँग मिलन गराई।
एकदिन बेलुकाको खानापछि जुलीका बाबुले बिबाहको लागि राम्रै केटाको प्रस्ताव आएको बताए। उसकी आमा अर्थात् रजनीले पनि राम्रै मानी तर जुलीले एउटा कठोर शर्त राखी। शर्त के राखी भने – घरको सम्पूर्ण सम्पत्तिको आधा आमाको नाममा पास गराएपछि मात्र उसको बिबाहको कुरा चलाइयोस। तर उसका आमा बाबु केहि नबोली सुत्न गए।
भोलिपल्ट जुलीले आमरण अनशन गरेको घोषणा गरी। बाबु आएर संझाए, आमा चांहिले बिन्तीभाउ गरी, रमेश र मैले पनि अहिल्यै आवश्यक भईसकेको छैन भनेर फकायौं तर उसले जिद्दी छोडिन। उसको माग पुरा नभएसम्म अनशन जारी रहने धम्की दिई। त्यो दिन कोहि काममा गएनन्। सबै बिखलबन्दमा परिरहे। अरुले पानी र चिया सम्म खाए तर जुली पानी खान पनि मानिन, लम्पसार परेर सुतिरही।
बेलुकीपख जुलीका बाबुले भोलिनै मेरा नाममा आधा सम्पत्ति पास गरिदिने प्रण गरे। त्यसपछि त जुलीको मुहार बिजयमोर्चाबाट फर्केको स्वाभिमानी सेनापतिको जस्तो उज्यालो देखियो। उसले उठेर आफ्नै हातले खाना बनाएर सबैलाई खुवाई। आफुले पनि खाएर कपाल दुखेको छ भन्दै सुत्न गई। मा सुत्न जाँदा ऊ मस्त निदाइसकेकी रहिछ। उसको गोरो, बाटुलो, बान्की परेको अनुहार कुनै ध्याननिमग्न सन्यासिनीको जस्तो अत्यन्त प्रियदर्शी लाग्यो, मलाई।
राति मलाई अबेर सम्म निन्द्रा परेन। म अर्थ खोज्न थालें – जुली मेरी सौताको छोरी हो, सामान्यतया सौतेनी आमाप्रति देखिने जलन, घृणा र प्रतिद्वंदिता जुलीमा किन देखा परेन ? जुली किन मेरो अधिकारको लागि ज्यान दिनसम्म उध्ह्वत भई भई ? उसको जिद्दीले गर्दानै रमेश र म सर्बहाराको स्थितिबाट प्रतिष्ठित परिवारका सदस्य बन्न पुग्यौं। उसले नचाहेको भए कुनै न्यायमूर्तिले पनि मेरो हक दिलाउन संभव थिएन। अलिकता आर्थिक राहत दिलाईहाले पनि परिवारका सदस्यका रुपमा लगेर जोड्न सक्ने थिएनन्। एउटा प्रतिष्ठित गृहस्थ जीवन जुलीले मलाई दिलाई।
प्राय: नारी उत्पीडनका कारण नारीहरुनै हुन्छन। बुहारीलाई बुहार्तन कटाउने सासू, नन्द र अमाज्युहरु, बृद्दा सासूलाई बिचल्ली पार्ने बुहारीहरु, पत्नी र बालबच्चा भएकासँग पोइल गएर सौता बनी घर भाँड्ने नारीहरुनै त हुन्। तर जुली नारी मुक्ति आन्दोलनको अप्रितम योद्दा बनी – कमसेकम मेरा लागि। मलाई यस्तो लाग्यो -  मेरो अंतरवेदनको संगालो मेरी सौता रजनिको गर्भबाट अवतरित भएछ र त्यसको नाम जुली राखिएछ ।  

1 comment:

  1. ब्लग अगाडी बढाउनुभएकोमा खुशी लाग्यो । but it would be better if you post yr own articles. blog is to express one's self feelings n experience.

    ReplyDelete